काठमाडौँ, ५ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ ।
लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए। उनले भने, “लामा दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए, आज हाम्रो टोलीले पक्राउ गरेको छ ।” उनका अनुसार लामा लागुऔषध मुद्दाका फरार प्रतिवादी हुन्।
लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
पुनरावेदन अदालत पाटनको उक्त निणर्यविरुद्ध दावा पुनरावेदन लिएर सर्वोच्च अदालत गएका थिएनन् । सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौँ जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख गरेको थियो । यससँगै लामा उच्च अदालतको फैसला कार्यान्वयनका लागि जेल जानुपर्ने निश्चित भएको थियो ।
उनलाई कैद भुक्तानका लागि पक्राउ गरिएको हो। प्रहरीले लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ।