काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण उपलब्धिपूर्ण भएको र अब बीआरआई कार्यन्वयनमा कुनै समस्या नरहेको स्पष्ट पारे । बिआरआई सम्बन्धि सम्झौताले छिट्टै अन्तिम रुप लिने पनि उनले बताए ।
‘मेरो भ्रमण दुई देशबिचको सम्बन्धन बलियो बनाउन महत्त्वपूर्ण भएको छ । भ्रमणले आन्तरिक श्रोत र साधनलाई कसरी वृद्धि गर्ने र विदेशी लगानी भित्र्याउने भन्नेमा छलफल केन्द्रित भएको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।
नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको पनि उनले धारणा राखे । ऋणमा नै भए पनि कुन कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्ने विषय छनौट गर्ने उनको भनाइ थियो ।
साथै उनले नेपाल र चीनबिच विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समझदारी गरेको बताए । उनले पोखराबाट चीनका विभिन्न शहरमा उडान गर्न सकारात्मक छलफल भएको पनि बताए ।
नेपालमा हुन लागिएको लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी भित्र्याउन अनुरोध गरिएको श्रेष्ठले जानकारी दिए ।