आमीलाई हराउदै चर्च ब्वाईजले जित्यो ईटहरी गोल्डकपको उपाधी

आमीलाई हराउदै चर्च ब्वाईजले जित्यो ईटहरी गोल्डकपको उपाधी

  • शनिबार, चैत्र १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।

शनिबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो।

चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आर्मी क्लबले रु पाँच हात पारेको छ।

चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरेका थिए। उनले खेल प्रारम्भ भएको चौथो मिनेटमा गोल गरेका हुन्।

खेलको प्रारम्भमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले अधिकांश समय रक्षात्मक खेलेर विभागीय टोलीलाई अल्मल्याएको थियो।

आर्मीका खेलाडीले पाएका गोलका धेरै अवसरलाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज चम्कन सफल भयो । प्रतियोगिताका नायक राजेश नै म्यान अफ दि म्याच घोषित भएर नगद १० हजार पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भएर नगद रु एक लाख पाए भने उत्कृष्ट डिफेन्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक सोही क्लबका दर्शन भक्तराज घोषित भएका थिए।

उनीहरूले पुरस्कारस्वरुप जनही रु २० हजार प्राप्त गरेका छन्। प्रतियोगितामा सर्वाधिक गोल गरेका डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब मोरङका विमल घर्ती मगर बने।

आयोजक राष्ट्रिय जागृति क्लबका सुमित चौधरी उदयीमान खेलाडी घोषित भएर फुटबल बुट र मेडल प्राप्त गरे। लामो समयसम्म खेल क्षेत्रमा योगदान पुर्‍याएका इटहरीका उमेश कार्कीलाई नगद ११ हजारसहित पुरस्कृत गरियो।

विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलगायत खेल पदाधिकारीले पुरस्कार प्रदान गरेका थिए।

यही चैत १० गतेदेखि सुरु भएको प्रतियोगितामा एक भारतीयसहित स्वदेशी आठ समूहले भाग लिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ