काठमाडौँ, १७ चैत : साहित्यकार कृष्ण बजगाईंका दुई कृति ‘नग्न स्वप्न’ (लघुकथा सङ्ग्रह) र ‘युङ्फ्राउ’ (नियात्रा सङ्ग्रह)को आज विमोचन गरिएको छ । यी दुवै कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
चिकित्सक डा शम्भु आचार्य, साहित्यकार प्रा डा लक्ष्मणप्रसाद गौतम, प्रा डा लेखप्रसाद निरौला, डा फणीन्द्रराज निरौला, श्रीओम श्रेष्ठ रोदन, लेखक बजगाईं र प्रकाशक केशव पराजुलीले दुवै कृति विमोचन गरेका हुन् । आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको नियात्रासङ्ग्रहमा स्वीट्जरल्याण्ड, ग्रिस र पोर्चुगलका २७ वटा यात्रानुभूति समावेश गरिएका छन् । उहाँको लघुकथा सङ्ग्रहमा ६१ कथा समावेश छन् । हाल बेलायतमा बस्दै आएका साहित्यकार बजगाईंका हालसम्म १७ कृति प्रकाशित भइसकेका छन् ।
कार्यक्रममा समालोचक डा फणीन्द्रराज निरौलाले बजगाईंको नियात्रासङ्ग्रह पारिवारिक भ्रमणको सँगालोमा आधारित रहेको बताए। उनले भने, “उहाँको यो पाँचौँ नियात्रा कृति हो । यो रोचक र महत्वपूर्ण छ । यसमा उहाँले विभिन्न देशका भ्रमणयात्रा समेट्नुभएको छ । साँस्कृतिक उत्खनन पनि भेटिन्छ ।”

समीक्षात्मक टिप्पणी गर्दै प्रा डा लेखप्रसाद निरौलाले अघिल्लो कृतिभन्दा यो बढी कसिलो रहेको बताए। उनले भने,, “उहाँको नियात्राले ऐतिहासिक उत्खनन गरेको हुन्छ । नियात्रा पढ्दा लाग्छ उहाँलाई प्राचीन सभ्यताको चिन्ता छ । उहाँको नियात्राले सूचना पनि प्रदान गरिरहेको हुन्छ ।”
बजगाईँको यो कृतिबाट नेपाली साहित्यमा महत्वपूर्ण सूचना आउन थालेकाले नियात्राकारलाइ चुुनौती समेत थपिदिएको बताए ।
यस्तै प्राडा खगेन्द्रप्रसाद लुईटेलले निवन्दको एक रुप नियात्रा र कथाको राम्रो पक्ष एक पाटो लघुकथा भएको स्पष्ट पार्दै यसलाइस छुट्टै विधा भन्न नमिल्ने बताए ।
बजगाईंका यसअघि ‘संवैधानिक पत्नी’, ‘कवच’, ‘रोडम्याप’, ‘यन्त्रवत्’लगायत लघुकथा सङ्ग्रह प्रकाशित भइसकेका छन् भने नियात्रा सङग्रहमा ‘उमिहोतारु’, ‘भाया साक्रा’, ‘युरेसियाको स्पर्श’ लगायत प्रकाशित भइसकेका छन् ।

आख्यान, कविता र नियात्रामा कलम चलाउने साहित्यकार बजगाईंका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा चार वटा नियात्रा पढाइ समेत भइरहेका छन् । उनका नियात्रामा स्नातकोत्तर तह र अन्य स्वतन्त्र रूपमा शोधकार्य सम्पन्न भई पुस्तकसमेत प्रकाशित भएका छन् । उनको एक लघुकथा कक्षा १२ को अनिवार्य नेपालीमा र एक बालकथा कक्षा ५ को सरकारी विद्यालयमा पढाइ हुन्छन् । अर्को एक लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा पढाइ हुन्छ भने उनका अरू २१ वटा बालकथा निजी विद्यालयको कक्षा ४, ५, ६ र ७ को पाठ्यक्रममा समावेश भएर पढाइ भइरहेका छन् ।