नागरिक उन्मुक्ति पार्टीले केन्द्रदेखि प्रदेशसम्म एमाले(माओवादीसहितको सत्तागठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको छ।
अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा आज टीकापुरमा बसेको पार्टीका संस्थापक बहुमत केन्द्रीय सदस्यको बैठकले सुदूरपश्चिमसहित अन्य प्रदेशमा पनि केन्द्रीय गठबन्धनलाई नै सहयोग गर्ने निर्णय गरेको हो।
नागरिक उन्मुक्तिका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले प्रदेशहरूमा पनि गठबन्धनलाई सहयोग गरेर जाने निर्णय भएको जानकारी दिए। अल्पमतमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नागरिक उन्मुक्तिको यो निर्णयसँगै थप अप्ठ्यारोमा परेका छन्।
सत्तागठबन्धनसँग भागबन्डाको विषय टुंगिएपछि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिइने नागरिक उन्मुक्तिले जनाएको छ।
पार्टीका २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये बैठकमा १२ जनाको उपस्थिति रहेको संस्थापक केन्द्रीय सदस्य रमेश विकले जानकारी दिए।
सरकारमा सहभागिताको विषयमा नागरिक उन्मुक्तिभित्र विवाद छ। पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका पति रेशमलाल चौधरी कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई कायम राखेर जानुपर्ने पक्षमा छन्।
केही दिनअघि रञ्जिताको अनुपस्थितिमा बसेको संस्थापक १६ जना सदस्यको बैठकले सुदूरपश्चिम सरकारको समर्थन कायम राख्ने र केन्द्रमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो। रेशमको सल्लाहमा उक्त निर्णय भएको थियो । केन्द्रमा भने अध्यक्ष श्रेष्ठले केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसदीय दललाई ह्विप जारी गरेकी थिइन्।
मुख्यमन्त्री शाहले रेशमसँगको छलफलपछि नागरिक उन्मुक्तिबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए । अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश संसदीय दललाई निर्देशन दिए पनि दलले समर्थन कायम राख्ने निर्णय यसअघि गरेको थियो। नागरिक उन्मुक्तिका सातजना प्रदेश सांसदमध्ये पाँचजना प्रदेश सरकारका मन्त्री छन्। अहिले रेशम जापान भ्रमणमा रहेको बताइएको छ।