बेइजिङ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै छन् । विदेशमन्त्री वाङ यीको निम्तोमा एक साता लामो भ्रमणका सोमबार बिहान बेइजिङ पुगेका श्रेष्ठले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् ।
विदेशमन्त्री वाङ यीसँगको भेटमा यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ । नेपालले सन् २०१७ मेमा बीआरआई परियोजनामा हस्ताक्षर गरेपछि पनि यो कार्यन्वयन हुन सकेको छैन ।
यसपटक चीनले नेपालसँग कुनै एक परियोजना सुरुवात गर्ने ईच्छा व्यक्त गरेको छ । त्यसका लागि परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबिच हुने छलफल पछि प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
वाङ यीसँगको भेटमा बीआरआई परियोजनाबारेमा बढी छलफल हुनेछ । बेइजिङस्थित नेपाल दूतावासका अनुसार छलफल यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सम्झौताका बुँदाहरूमा समेत छलफल हुनेछ ।
यसअघि, सोमबार परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेका थिए । भेटमा गत ६ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका सहमतिपछि भएका प्रगति र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनको विषयमा छलफल गरिएको थियो ।
वाङ चिनियाँ कम्युनिस्ट पार्टीका सात सदस्यीय स्थायी समितिका पाँचौँ नम्बरका सदस्य हुन् ।