फिफा विश्वकप २०२६ अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दैछ। बहराइनको राष्ट्रिय स्टेडियममा आज राति पौने १ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्दै छ।
यो खेल नेपालमै हुने तालिका थियो। तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने जानकारी दिए पछि होम एण्ड अवे दुबै खेल नेपालले उतै खेल्नु पर्ने भएको हो ।
नेपालले बिहीबार पहिलो खेल खेलेपछि मंगलबार बहराइनमै दोस्रो खेल खेल्नेछ।
समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल पहिलो खेलमा युएईसँग ४–० गोल र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो।
पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो। चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।