काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री श्रेष्ठको बेइजिङ जाने तय भएको मन्त्रालय स्रोतले जनाएको छ । उनी दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन् । उनी गठबन्धन परिवर्तनपछि पहिलो पटक चीन जानुलाई चासोका साथ हेरिएको छ ।
चीनको हाइनानमा हरेक वर्ष आयोजना गर्ने बोआओ फोरममा यसअघि राष्ट्र प्रमुख वा सरकार प्रमुखले सहभागिता जनाउँदै आएको भए पनि अघिल्लोपटक प्रधानमन्त्री पुष्पकमल प्रचण्ड भारत भ्रमणमा जानुपर्ने कारण देखाएर सहभागी भएका थिएनन् ।
यसपटक परराष्ट्रमन्त्री श्रेष्ठ फोरममा सहभागी हुने तयारी भइरहेको थियो । तर यही समयमा श्रेष्ठको बेइजिङ भ्रमण तय भएसँगै बोआओ फोरममा नेपालको सहभागिता अनिश्चित देखिएको छ ।
परराष्ट्रमन्त्री श्रेष्ठ ११ चैतमा बेइजिङ प्रस्थान गर्नेछन् । त्यसको भोलिपल्ट १२ चैतमा चिनियाँ समकक्षी वाङसँग भेटवार्ता गने छन् । यो भ्रमणमा दुई देशबीच सम्बन्ध, नेपालमा पछिल्लो विकसित राजनीतिक स्थिति र बिआरआई कार्यन्वयनको विषय मुख्य बन्ने बताईएको छ ।