आनीका लागि आर्यतारा

आनीका लागि आर्यतारा

  • बुधबार, चैत्र ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

कीर्तिपुर (काठमाडौँ), ७ चैत : आनीहरुको शिक्षादीक्षाका लागि स्थापना गरिएको आर्यतारा स्कुलमा व्यावहारिक शिक्षासँगै बौद्ध दर्शन र ज्ञान पनि दिने गरिएको छ । गुम्बामा उनीहरुले पाउने धार्मिक शिक्षा त छँदैछ, साथमा उनीहरुले भोलि गृहस्थीतर्फ फर्किन चाहे भने राम्ररी जीविका गर्न सकून् भन्ने उद्देश्य राखिएको स्कुलकी संस्थापक एवम् गायिका आनी छोइङ डोल्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्यतारामा अध्ययनरत आनीहरुले समाजमा अहिले आवश्यक व्यावहारिक ज्ञानका साथमा बौद्ध दर्शन, उपासना आदि पनि सिक्नेछन् । आधुनिक विद्यालय र आर्यतारामा भएको आधारभूत फरक भनेको ती विद्यालयको पाठ्यक्रम र पठनशैली पाश्चात्य शिक्षा प्रणालीबाट प्रभावित छ ।

अलिक यन्त्रवत् शैलीमा ‘भोलि गएर धन र प्रतिष्ठा कमाउनका लागि आज पढनुपर्छ’ भन्ने भाव त्यसमा देखिन्छ । हाम्रा पूर्वजको नजरमा भने शिक्षा कमाउने साधन मात्र नभएर सम्पूर्ण जीवनलाई सार्थक बनाउने र आफ्नो मात्र कल्याण नसोची “बहुजन हिताय, बहुजन सुखाय च” भन्ने कुराका लागि शिक्षा भन्ने सोच राख्नुपर्नेमा उहाँको जोड रहेको छ । उहाँ भन्नुहुन्छ, ‘‘खासमा गुम्बा पनि पुरानो जमानामा हिमाली भेगको शिक्षालय हो, ज्ञानआर्जनको थलो हो ।’’

विश्व प्रणाली नै आधुनिक शिक्षाका आधारमा चल्न भएकाले त्यो अहिलेका मानिसलाई नभई नहुने भएपनि आफ्नो धर्म, संस्कृति र दर्शनबारे पनि उत्तिकै ज्ञान राख्नुपर्ने भएकाले त्यही सोचअनुसार आर्यतारा स्कुल स्थापना गरिएको उहाँ बताउनुहुन्छ । यस विद्यालयमा अन्य विद्यालयमा जस्तै अङ्ग्रेजी गणित, विज्ञान, समाजशास्त्रजस्ताका विषय पढाइ हुन्छ । त्यससँगै जीवनलाई सार्थक बनाउन बौद्ध ज्ञान, दर्शनलाई जीवनमा कसरी लागू गर्ने भन्ने ज्ञान प्रारम्भिक तहदेखि नै सिकाइउने गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार यस विद्यालयमा बौद्ध दर्शनसँगै आधुनिक शिक्षाअनुसार कक्षा आठसम्म सरकारकै पाठ्यक्रमअनुसार पढाउने गरिएको छ । विद्यार्थीहरुलाई फर्पिङको शेषनारायण मन्दिर नजिक रहेको सामुदायिक विद्यालयमा नगरपालिकाले सञ्चालन गर्ने कक्षा आठको परीक्षा दिलाउने गरिन्छ । औपचारिक शिक्षातर्फ आनीहरुलाई जोड्न कक्षा ९ र १० पढाइ सामुदायिक स्कुलमा भर्ना गरिदिने गरेको उहाँको भनाइ छ । उनीहरुलाई आधुनिक शिक्षाको एसइइसँग जोड्न थालेको झण्डै एक दशक भइसकेको छ ।

आनीहरुलाई विद्यालयमा पढ्न र त्यहाँ घुलमिल हुन कुनै समस्या नभएको परेको छैन । मात्रै अरु विद्यार्थी विद्यालय पोशाकमा जाँदा उनीहरु आनीकै पोशाकमा हुन्छन् । विद्यालय शिक्षाको औपचारिक प्रमाणपत्र लिएपछि आनीहरु उच्चशिक्षातर्फ रुचिअनुसार जान्छन् । अधिकांश बनारस विश्वविविद्यालयमा आयुर्वेद र बौद्ध दर्शन पढ्न जाने गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार पाँच जनाले आचार्य तह उत्तीर्ण गरेका छन् र उनीहरुमध्ये कतिपय शास्त्री तहसम्मको अध्ययन गरेर आउने पनि छन् । तीनैमध्ये एक जना सिन्धुपाल्चोककी आनी उगेनले बौद्ध शिक्षा उत्तीर्ण गरेकी छिन् । मनाङकी अर्की आनीले आगामी वर्ष वैद्य शिक्षा उत्तीर्ण गर्नेछिन् ।

आर्यतारा स्कुलमा भर्ना हुने विद्यार्थीमा धेरैजसो दुर्गम हिमाली क्षेत्रका र विपन्न परिवारका तथा आनी बन्न चाहने भर्ना भएका छन् । उनीहरुको शैक्षिक, धार्मिक र आध्यात्मिक विकासका लागि आर्यतारा स्कुल स्थापना भएको हो । आफूले स्रोत व्यवस्थापनको पक्ष हेर्ने गरेको र शैक्षिक पक्ष भने त्यही विद्यालयबाट पढेर बनारस गई आचार्य तह उत्तीर्ण गर्नुभएकी आनी पेमा रिन्छिनले गर्नुहुन्छ ।

औपचारिक शिक्षातर्फ कक्षा ५ मात्र उत्तीर्ण आनी छोइङलाई महिला शिक्षाप्रति समर्पित बनाउने काम चाहीँ सामाजिक परिवेशले बनाएको हो । उहाँ भन्नुहुन्छ, “छोरीले किन पढनु प¥यो ? अथवा “छोरीलाई कम पढाए पनि हुन्छ ?” भन्ने मानिसकता परिवर्तन गर्न नै आफूले स्कुल स्थापना गरेको उहाँको भनाइ छ ।

समाजमा छोराजत्तिकै अघि बढ्न छोरीलाई गाह्रो छ । उनीहरुलाई छोराको तुलनामा कम योग्यता भएका, कम बल भएका र कम बुद्धि भएका प्राणी हुन् भने जस्तो व्यवहार गरिन्छ । राम्रो पढाउन सक्ने अभिभावकले पनि पहिलो प्राथमिकतामा छोरालाई राखेर दोस्रोमा मात्र छोरीलाई राख्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘यसको उदाहरण म आफैँ पनि हुँ ।’’ तिनै कुराहरुले पनि स्कुल स्थापनाका लागि आफूलाई प्रेरणा दिएको उहाँको भनाइ छ ।

समाजलाई विकासतर्फ डो¥याउन शिक्षालाई सर्बसुलभ र जीवनोपयोगी बनाउनै पर्नेमा उहाँको जोड छ । ‘‘त्यो लक्ष्य हासिल गर्न छोरीलाई शिक्षा दिनै पर्छ’’ उहाँ भन्नुहुन्छ, ‘‘घरको कामको बोझ छोरीमा दिएर छोरालाई पढाइतर्फ अघि बढाउने प्रवृत्तिको अन्त्य नभएसम्म समाज अग्रगतिमा हिड्न सक्दैन ।’’

गुम्बाजस्तै गुरुकुल र मदरसा शिक्षालाई मूलधारको शिक्षा प्रणालीसँग जोड्ने सरकारको नीति छ । फर्पिङका विभिन्न गुम्बामा रहेका विद्यालयले दक्षिणकाली नगरपालिकासँग समन्वय पनि गरिरहेका छन् । यस्तो समन्वय कक्षा आठ परीक्षाका लागि गरिएको छ । यसको जिम्मेवारी आर्यतारा स्कुलकी प्राचार्य आनी पेमा रिन्छिनले लिनुभएको छ ।

यस विद्यालयको उद्देश्य आनीलाई धार्मिक ज्ञानसहित गुम्बा बाहिरको संसारमा प्रचलित विषयवस्तुसँग परिचित गराउने र आफ्ना अरु क्षमता विकास गराउनुरहेको प्राचार्य रिन्छिनले जानकारी दिनुभयो । औपचारिक शिक्षासँगै सङ्गीत क्षेत्रतर्फ पनि कसैले अघि बढन सक्लान् भनेर हरेक साताको अन्तिममा विद्यार्थीलाई मादल, सारङ्गी बाजासहित चर्या नृत्य आदिसमेत सिकाउने गरिएको उहाँको भनाइ छ । बौद्ध धर्मसँगै जोडिएको थान्का चित्रकला सिकाउन अलग्गै विभाग चलाइएको छ ।

त्यहीँबाट पढेकी एक जना आनीले बौद्धमा निःशुल्क प्रारम्भिक कक्षा चलाउनुभएको छ । त्यहाँ एकल र असहाय महिलालाई दिउँसो काम गर्न सहज होस् भनेर उनीहरुका बालबालिका भर्ना गर्ने गरिएको छ । करिब १० वर्षअघि सुरु भएको त्यो विद्यालय सम्भवतः आनीले सञ्चालन गरेको पहिलो प्रिस्कुल हुनसक्छ । थुपै आनीहरुले प्रारिम्भक बालविकास (इसिडी)को तालिम लिएर त्यसैमा डिप्लोमा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी