प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद दिपक गिरीले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेमाथि अनुसन्धान हुनु पर्नेमा उल्टै मन्त्री बनाएको भन्दै राजीनामा दिनु पर्ने बताए ।
सरकारले सोही सहकारीमा संलग्न भएका दीपेश पुनमाथि कारबाही भएपनि लामिछानेमाथि कार्बाही नभएको भन्दै उनले आक्रोश पोखे ।
नेपाल प्रहरी र सीआईबीले समेत उनीमाथि छानबिन अघि बढाएको बेला सत्ता समीकरण बदलेर गृह मन्त्रालय लिएको आरोप गिरीले लगाएका छन् ।
‘जो बिरुद्ध अनुसन्धान गर्नुपर्ने हो उहाँ अहिले गृहमन्त्री हुनुहुन्छ’, गिरीले भने, ‘जसरी पनि गृह मन्त्रालयले नै चाहिन्छ भन्दै सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा पुग्ने देखिन्छ। त्यसैले हामी उहाँको राजीनामा माग गर्दै छौँ।’
त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने क्रममा प्रहरीले लामिछानेमाथि अनुसन्धान गर्नु नपर्ने राय दिएको, यदी दोषी देखिए कार्बाही हुनबाट कसैले बचाउन नसक्ने भन्दै अहिले गृहमन्त्रीलाई कार्बाही गर्नु आवस्यक नरहेको बताए ।