काठमाडौँ, २ चैत । सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको पुष्टि गर्नुभएको छ ।
गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो । हिजो गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता औँल्याएको छ ।
दिपेश पुनको चिनयाँ सुन तस्करसँग संलग्नता देखिए पनि प्रहरीको अनुसन्धानबाट बाहिरै थिए । सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दिपेशलाई सामान्य सोधपुछ कागज गराएर छाडेको थियो । पछिल्लोपटक दिपेशका दाजु जितेन्द्र र तत्कालीन उपराष्ट्रपति समेत रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिरिएपछि उनीमाथि अनुसन्धानको दायरा ल्याउनुपर्ने दबाब बढेको थियो ।
सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशले उन्मुक्ति पाउँदै आएका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए ।