प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफै सहकारी ठगीमा जोडिएको भन्दै उनको नियुक्तिमाथि प्रश्न उठाएको छ ।
आज संसद बैठकको सुरुमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सहकारी ठगीबारे विभिन्न आरोप लागेका लामिछानेले त्यही काण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउनेमा आशंका गरे ।
‘सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्ति, पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ’, सांसद पाण्डेले प्रश्न गरे।
‘कतै तपाईंको पोजिसनलाई रक्षाकवच बनाएर एक÷दुई करोड मात्रै अभियोग लागेका तपाईंलाई सिखन्डीको भूमिकामा अघि सारेर दसौँ अर्बको ठगी गर्ने ठूला माछा उम्काउने जानी नजानी हतियार त बनिरहनु भएको छैन’, उनले भने।
यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ।
उनले सरकारले आफूहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ नदिए कठोर रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए ।