७९ मंसीरमा निर्वाचन हुनु अघि काँग्रेस माओवादी सहितको गठबन्धन एकातिर एमाले राप्रपा जसपा सहितको गठबन्धन अर्कोतिर थियो । त्यस बेला ओली भन्ने गर्थे गठबन्धन भनेको एक किलाको ढक हो , एमाले एक्लै एक क्वीन्टलको छ ।
देउवा खासै टिप्पणीमा रुची राख्दैनन् । यद्यपि, गठबन्धनका तर्फबाट प्रचण्ड र माधव कुमार नेपाल चाँही केपी ओलीलाई ब्यग्य गरिरहन्थे । अर्थात उनीहरुलाई लागेको थियो कि गठबन्धनले बहुमत ल्याउछ , एमाले एक्लिन्छ । तर परिणामले त्यो देखाएन एमाले संगठित रुपमा बलियो छ भन्ने कुरा उसले निर्वाचनमा ल्याएको सबै भन्दा धेरै समानुपातिक मतले स्पष्ट पार्यो ।
त्यसपछि गत वर्ष पुष १० मा सरकार बनाउने दिन आयो । तात्कालीन गठबन्धन भित्रको सहमति अनुसार २ वर्षका लागि प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुनु पर्ने थियो तर केपी ओलीले पठाएको सन्देशको आडमा देउवाले आफै प्रधानमन्त्री हुने चाहना राखे । राष्ट्रपति पनि काँग्रेसलाई नै चाहिने, प्रधानमन्त्री पनि नछाड्ने भएपछि पीडाका साथ बालुवाटारबाट खुमलटार फर्किदै गरेका प्रचण्ड बालकोट हानिए ।
देउवा बालुवाटारमा हेरेको हेरै भए, बालकोटमा तयार भयो नयाँ गठबन्धन । प्रचण्डले प्रधानमन्त्री हुने अवसर पाए । त्यसपछि विस्वासको मत लिने क्रममा संसदको ९९ प्रतिशत बढी मत चाँही प्रचण्डको पक्षमा पर्यो । यसको कारण थियो देउवा पनि प्रचण्डलाई साविकको गठबन्धनमा ल्याउन चाहने भएकाले विस्वासको मत दिए ।
निर्वाचन अघि खास गरी ओलीले संसद विघटन गरेदेखि मिलेका देउवा प्रचण्डबीच कुरा मिल्यो । प्रचण्डले ओलीलार्ई छाडे देउवालाई काँध हाले । राष्ट्रपति रामचन्द्र पौडेललाई बनाए ।
यो घटनाक्रम सम्म आईपुग्दा एमाले नेताहरु काँग्रेस र एमाले मिल्यो भने देशले निकास पाँउछ , अरु झिना मसिना दल तान्नु पर्दैन , स्थीरता आँउछ भन्नेमा थिए तर देउवा तयार भएनन् ओलीसँग छलफल गर्न ।
त्यसले ओलीलाई कति चिसो पसेको रहेछ भने ओलीले संसदमा बुधबार दिएको अभिव्यक्तिले स्पष्ट गर्छ । पानी नचल्ने, भात नचल्ने भन्ने थियो उहिले अहिले काँग्रेसलाई बोली चल्दैन, कुरा गरौँ न बसौँ भन्छु , चल्दै चल्दैन भन्दै ओलीले कटाक्ष गरे ।
संसदमा काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले ठूला दुई दल मिले तपाईको गद्धी के हुन्छ ? भनेर प्रश्न गरे ।
त्यसपछि जवाफ दिने क्रममा प्रचण्डले आक्रोशित हुँदै चूनौती दिए , हिजो पनि मिलेर टाउको काट्न खोजेको हो नि । मिल्नुस् । प्रचण्ड दबाबमा पर्दैन, माओवादी डराउदैन, संसदमा राष्ट्रियता र संविधानको रक्षाका लागि प्रतिपक्षमा बसेर लडिरहन्छ ।
ओलीले बसौँ न बोलौँ कुरा गरौँ भन्दा देउवा मुन्टो हल्लाएर ठीक छ भन्ने सन्देश दिईरहेका थिए ।
साँच्चै काँग्रेस र एमाले मिल्यो भने के हुन्छ त ? यो प्रश्न चाँही उठीरहन्छ । त्यसपछि प्रचण्डको हैसियत र भविष्य सकिन्छ भन्ने धेरैको बुझाई छ । संसदको ठूला दुई शक्ति मिल्दा पर्याप्त बहुमत हुन्छ । उनीहरुले आलोपालो गरेर पाँच वर्ष नै सरकार चलाउन सक्छन् ।
यद्यपि, सबै भन्दा परम्परागत र पुराना यी दुई पाटीको मिलन भने त्यति सजिलो छैन । २०४६ साल पछि पटक पटक सरकार बनाउने भत्काउने अभ्यासको अनुभव भएका यी दुई ठूला शक्तिले एक अर्कालाई प्रतिस्पर्धीका रुपमा लिँदै आएका छन् । ६४ सालपछि माओवादीको संसदमा प्रवेशसँगै काँग्रेस एमाले र माओवादीबीच अलग अलग गठबन्धन बन्ने गरेको छ ।
मिल्ने अवस्था कम भए पनि ओली र देउवाको अभिव्यक्ति र हाउभाउले मिलेर प्रचण्डलाई तह लगाँऔँ भन्ने मनशाय देखिए पनि त्यो सहज भने छैन ।
यदी ठूला दुई दल मिलेमा संक्रमणकालीन न्याय सम्बन्धि बिधेयक प्रचण्ड प्रतिकुल हुनेछ । कैयौ नीतिगत र राजनीतिक मामलाहरुमा प्रचण्डमाथि ठूलो संकट आई पर्न सक्छ । जस्तो कि हिन्दु राज्य कायम गर्ने अभियानै चलिरहेको छ । काँगेस भित्र त्यो अभियान चलाउनेहरु निकै छन् । सबै मिल्दिएर त्यता पट्टी ढल्किने पो हुन् कि भन्ने प्रचण्डलाई त्रास पनि देखिन्छ । तर उनले आफ्नो पाटी संविधान र राष्ट्रियताको रक्षाका लागि प्रतिपक्षमा बसेर लडिरहन्छ भनेर आफू त्रसित छैन भन्ने सन्देश दिएका छन् ।
तर देउवाले मुन्टो हल्लाए पनि बालकोटबाट गत वर्ष पुष १० मै धोका भएको महसुस गरेका देउवाले सहजै मान्छन् भनेर काँग्रेसीजनले त्यति विस्वास गरेको देखिएको भने छैन ।संसदमा प्रधानमन्त्री प्रचण्डले १५७ सांसदले विस्वासको मत दिँदै गर्दा पनि मनमा अविस्वास देखिनु भनेको सकारात्मक पक्ष भने हैन ।