प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनधिसभाबाट विश्वासको मत पाएका छन्। गत फागुन २१ गते गठबन्धन फेरेपछि प्रचण्डले संसदमा पुनः विस्वासको मत लिनु परेको हो ।
प्रतिनिधिसभामा बुधबार उपस्थित २६८ मध्ये प्रचण्डको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ। मत दिन्न भन्ने पक्षमा १ मत खसेको सभामुख देवराज घिमिरेले घोषणा गरे।
यस पटक प्रचण्डको पक्षमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी उभिए।
त्यस्तै डा. अमरेश सिंह, योगेन्द्र मण्डलसहितको मत पनि उनले पाएका छन्। प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। यसअघि उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए। प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक थियो।
त्यतिबेला संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ। त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए।
सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए। उनको विपक्षमा ८९ मत परेको थियो।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही महिनाको २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।
२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए।
त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो।