काठमाडौँ फागुण २८ । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गरेका छन् ।
चारवर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए ।
राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ । एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन् । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ ।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाएको हो। कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् । कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो । तर, माओवादीसँगको गठबन्धन टुटेपछि कांग्रेसले उम्मेदवारमा शर्मालाई अघि सारेको हो । ७४ वर्षीय शर्मा बाँकेका हुन् ।
२०४५ मै कांग्रेसको बाँके सभापति भएर काम गरेका उनी २०२८ मा देउवा नेविसंघको सभापति हुँदा उपाध्यक्ष थिए ।