फागुन २३, बागलुङ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका लागि द्वन्द्व फैलाउन खोज्नेबाट सचेत हुन जरुरी रहेको बताएका छन् । बागलुङको पञ्चकोट पुगेर ओलीले सबै धर्मको सम्मान गर्ने राज्य बनाउने समेत बताए ।
ओलीले नेपालमा बेदको रचना भएको, बुद्ध जन्मेको, राम र सीताको जन्म भएको र शिवपार्वतीको निवास भएकोले धार्मिक क्षेत्रको रुपमा परिचित भएको ओलीको भनाई छ ।
‘नेपाल देव भूमि, ज्ञान भूमि, तपो भूमि, ध्यान भूमि र पुण्य भूमि रहेको भन्दै अध्यक्ष ओलीले शान्ति भूमिलाई खलबल्याउन खोज्ने तत्वबाट हामी सचेत बन्नुपर्ने बताए । पछिल्लो समय राजनीतिमा समेत धार्मिक समूह र साम्प्रदायिक हिंसा भड्काउन खोजिएको उनको आरोप छ ।
सनातन धर्मको रक्षाका लागि काम गर्न सरकार र राज्य व्यवस्था तयार हुनुपर्ने ओलीको भनाइ छ । महायज्ञले विश्वकै शान्तिको कामना गरेको भन्दै महायज्ञका संकल्पकर्ता कमलनयनाचार्यको प्रशंसा गरे । ‘स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट सचेत हुन जरुरी रहेको भन्दै ओलीले मूर्ति चोरिए पनि उपदेश च्यातिए पनि सत्यकुरा टिकेको बताए ।
२६ सय वर्षदेखि बुद्धका उपदेश अझै सार्न्दभिक भएको, सनातन धर्मका मूल्य मान्यताहरु अझै उपयोगी भएको उनको भनाइ थियो ।
ओली २०७१ सालमा पञ्चकोटको शिलान्यासमा आएका थिए । उनले महायज्ञस्थलमा उभिएर १० करोड रकम तत्काल प्रबन्ध गर्ने घोषणा पनि गरे ।