फागुन २३, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सँगै मिले जान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।
बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएकाले कांग्रेस र एकिकृत समाजवादी पार्टी सँगै मिलेर जान आग्रह गरेका हुन् ।
यसको जवाफमा अध्यक्ष नेपालले आज अपरान्ह बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिएको स्रोतले बताएको छ । देउवाको प्रस्तावबारे आजको बैठकमा कुरा राखेर छलफल गरेपछि मात्रै के हुन्छ भन्न सकिने नेपालको जवाफ थियो ।
मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न आज बिहान नेपाल निवास कोटेश्वर पुगे ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई भेटेका हुन् । कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ ।नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।