२२ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नेदरल्याण्डलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।
ओपनर कुशल भुर्तेल १० बल खेली १ चौका र २ छक्का प्रहार गरी २० रनमा आउट भए । रिभर्स स्विप हान्न खोजेका उनलाई टिम भान डेर गुग्टेनले बोल्ड गरे । रोहितले १९ बल खेली ३ चौका र १ छक्कासहित २५ रन बनाए । उनी पनि रिभर्स स्विप हान्ने चक्करमै आउट भए ।
ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । उनले ३७ बल खेली १ चौका र ३ छक्का प्रहार गरे । उनी दुर्भाग्यपूर्ण एलबीडब्लु आउट भए । दुबैलाई माइकल लेभिटले आउट गरे । नेदरल्यान्ड्सका फिल्डरले आसिफ २ र ३६ रनमा भएको समयमा दुई पटक क्याच छाडेका थिए । दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भए ।
कुशल मल्लले ११ बल खेली ३ छक्का प्रहार गरि २६ रन बनाए । करण केसी ९ रनमा आउट भए । आरिफ शेख पहिलो बलमै आउट भए । योक्रममा नेपालले ८ बलको अन्तरमा ४ विकेट गुमाएको थियो । सोमपाल कामी र प्रतिश जिसी समान ६ रनमा अविजित रहे ।
नेदरल्यान्ड्सबाट फ्रेड क्लासेन, भान डेर गुग्टेन, लेभिट र साइब्रान्ड इंगलब्रेक्टले २–२ विकेट लिए ।