फाल्गुन २०, काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक सोमबार बिहानका लागि बोलाइएको छ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकको प्रतिवेदन तयार पार्नका लागि समितिको बैठक बोलाइएको हो ।
समितिको आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकका केही विषयमा सहमति जुटाउनका लागि समय मागेका थिए । पीडितको सहमति नभए अभियोजनमा जाने र अभियोजन गर्दा सजाय कति हुने जस्ता केही विषयमा सल्लाह गर्न बाँकी रहेकाले समय आवश्यक भएको मन्त्री गुरुङको भनाइ थियो ।
समिति सभापति विमला सुवेदीले समितिको आइतबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगोमा पुर्याउने बताएकी थिइन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संसोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्नका लागि बिहान ७: ४५ मा समितिको बैठक बोलाइएको छ ।