काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना सहित आजबाट २० सांसदको पदावधि सकिदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आजबाट बिदा लिने छन् ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा, पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदैछन् ।
कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् ।
माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन् ।
नेकपा एसबाट नन्दा चापाई र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमीलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छिन् ।
उनीहरुको स्थानका लागि माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका छन् । फागुन २१ गते उनीहरूको शपथको कार्यक्रम राखिएको छ भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।