प्रतिनिधिसभा बैठक : प्रतिपक्षी दलका सांसदद्धारा यसअघिका बैठकमा उठेका विषय सम्बोधन नभएको भन्दै विरोध

प्रतिनिधिसभा बैठक : प्रतिपक्षी दलका सांसदद्धारा यसअघिका बैठकमा उठेका विषय सम्बोधन नभएको भन्दै विरोध

  • शुक्रबार, फाल्गुन १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १८ फागुन : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दलहरुले संसद्का यसअघिका बैठकमा उठेका विषय सम्बोधन नभएको भन्दै विरोध जनाएका छन् ।

संसद्मा उठेका विषयमाथि प्रधानमन्त्रीले जवाफ दिने भनी सभामुखले रुलिङ गर्नुभएको विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले ध्यानाकर्षण गराउनुभएको हो । “संसद्मा उठेका विषयमा प्रधानमन्त्रीबाट जवाफ दिन भन्दै फागुन ६, १०, ११, १३ र १४ गतेको बैठकमार्फत सरकारलाई रुलिङ भएकामा अहिलेसम्म त्यसको कार्यान्वयन भएन । सरकार संसद्प्रति जवाफदेही भएन”, उहाँले भन्नुभयो । मिटरब्याजपीडितका समस्या, दूध किसानले आफ्नो उत्पादनको मूल्य नपाएका, बालकुमारी घटनालगायत विषयमा सांसद थापाले सरकारको ध्यानाकर्षण गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पनि मिटरब्याजपीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसान सडकमा रहेका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । बैंक तथा वित्तीय क्षेत्रका समस्या, नेपाली युवा रुसी सेनामा भर्ना भइरहेकामा उनीहरुलाई फिर्ता बोलाउन प्रक्रिया थाल्नेलगायत विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
संसद्मा उठेका विषयमाथि प्रधानमन्त्री जवाफ माग गर्दै प्रतिपक्ष दलहरुले केहीबेर आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका सदस्यको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको छ । आजको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिम्स्टेक बडापत्र’ प्रस्तुत गर्नुहुनेछ ।

त्यसैगरी सांसद प्रेम सुवालले ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’ प्रस्तुत गर्नुहुने पनि कार्यसूची छ ।

त्यसैगरी अर्थमन्त्री डा प्रकाशशरण महतले ‘भन्सार विधेयक, २०८०’ मा विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । वैठकमा राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ मा छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ । राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत हुँदैछ ।
—

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ