काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको उपाधीका लागि आज नेपालले जोर्डनसँग खेल्दैछ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल आज राति ९ः४५ बजे सुरु हुनेछ ।
फाइनलमा उत्कृष्ट स्ट्राईकर सावित्रा भण्डारी आज अनुपस्थित रहने भएकी छन् । सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्न उनी फ्रान्स फर्कने भएकी छन् ।
जारी वाफ च्याम्पियनसिपमा सावित्राले नौ गोल गरिसकेकी छन् ।
नेपाल समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । जारी प्रतियोगितामा नेपालले १५ गोल गरिसकेको छ भने दुई गोलमात्र खाएको छ ।
जोर्डन समूह ‘ए’ बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । जोर्डनले पनि समूहगत चरणमा आफ्नो तीनवटै खेल जितेको थियो ।
बिहीबार खेलिने नेपाल र जोर्डनबिचको फाइनल खेल निकै रोमाञ्चक हुने देखिएको छ ।