काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको आदनचुली गाउँपालिकाका उप(प्रमुख सौमति रावल ऐडीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता नरहरी घिमिरेले अदानचुली गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडी,निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे,इन्जिनियर मकर ध्वज शाही,सव -इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी,तत्कालीन लेखापाल दिपक नेपालीसमेत गरी ११ जनाविरूद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए ।
आदनचुली गाउँपालिका वडा नम्बर ३ स्थित ढकनीकुनादेखि मुढेघट्टसम्म सिंचाइ योजनामा अनियमितता गरेको उनीहरूमाथि उजुरी परेपछि अख्तियारले अध्ययन गरेर मुद्धा चलाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डे,इन्जिनियर शाही,सव -इन्जिनियर छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन भण्डारी,तत्कालीन लेखापाल नेपालीले सो सिंचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराइ झुट्ट नापी किताब,उपभोक्ता समितिसम्बन्धी बिल,कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराइ वास्तविक फिल्डमा भएको कामभन्दा बढी देखाइ ४२ लाख २९ हजार ३५८ रुपैयाँ सरकारी रकम हानिनोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
उनीहरूबिरुद्ध सोही रकम बराबरको बिगो असुल गर्न माग दावी गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।