काठमाडौं, १५ फागुन । जे.भी. फाउन्डेसनले मुसहर जातिलाई ३० लाख बराबरको लत्ताकपडा सहयोग स्वरुप प्रदान गरेकोमा नेपाल पिछडावर्ग (माओवादी महासंघ)ले आभार ब्यक्त गरेको छ । महासंघका केन्द्रीय संयोजक डा. एम.पी. शाहले मंगलवार एक विज्ञप्ती जारी गर्दै फाउन्डेसनका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यको अगुवाईमा २५०० लत्ता कपडा, पिछडावर्ग समुदायको लागि सहयोग गर्नुभएको धन्यवाद समेत दिनुभएको छ ।
फाउन्डेसनले राप्ती नगरपालिका अन्तर्गत चेपाङ्ग वर्गलाई चीनमा निर्माण भएको एक गाडी सिरक, तराई क्षेत्रमा बसोवास गर्ने मुसहर जातिलाई एक गाडी ज्याकेट, ट्राउजर, न्यानो कपडा प्रदान गर्ने र हाल संघीय मामिला सामान्य प्रशासन मन्त्रालयका मन्त्री अनिता साहमार्फत २५०० लत्ता कपडा, पिछडावर्ग समुदायको लागि सहयोग गरिएको संयोजक शाहले बताउनु भएको छ । यसअघि वि.सं.२०८० साल कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर आएको भुकम्प पिडितहरु मध्ये महिलाहरुलाई महिनावारी हुँदा प्रयोग हुने सेनिटरी प्याड, टावल, पन्ध्र हजार कार्टून, जुत्ता एक हजार जोर, त्रिपाल पाँच हजार थान, कम्मल पच्चिस हजार थान, ब्ल्याङ्केट बिस हजार थान, न्यानो लुगा बिस हजार थान, विभिन्न औषधी पचाँस कार्टून सहयोग गरेको फाउन्डेसनले जाजरकोटका भुकम्प पिडितका लागि थप राहत सामग्री पठाउने तयारि गरिरहेको अध्यक्ष प्रा.डा. वैद्यले जानकारी दिनुभयो ।

वि.सं. २०३५ साल वैशाख ३ गते पशुपति क्षेत्रको वागमति सरसफाईबाट समाजसेवामा प्रवेश गरी वि.सं.२०५० सालको दैविप्रकोप, बाढी, पहिरो राहत सहयोग जम्मा गर्ने क्रममा प्रा.डा. वैद्यलाई आफ्नो व्यक्तिगत प्रयासबाट कुल राहतको ६० प्रतिशत राहत नेपाल सरकार राहत कोषमा जम्मा गरी ठूलो किर्तिमान कायम गरेकोमा राष्ट्रले राष्ट्रिय समाजसेवीको सम्मानबाट सम्मानित गरेको हो ।
उहाँले बि.स. २०७२ सालको महाभूकम्पमा जिवनभरी नेपाल सरकारको सेवा गरी प्राप्त गर्नुभएको सम्पूर्ण पारिश्रमिक राहत स्वरुप सहयोग गर्नुभएको र त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायत नेपाल भरी १२२ मन्दिर आफ्नै हातबाट शिलान्यास गरी मन्दिरमा लाग्ने सम्पूर्ण सहयोग गर्नुका साथै नेपाल भरी गुरुकुल र अनाथ असहाय संस्थाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग वार्षिक नेपाल भरी लाखौं विभिन्न प्रजातिका रुख विरुवा स्थानीय निकायलाई हस्तान्तरण गर्नु भएकोछ ।
प्रा.डा. वैद्यले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क बमोजिम हालसम्म १९५ पटक रक्तदान समेत गरिसक्नु भएको छ । फाउन्डेसनले ताजा रगत आवश्यक परेका बिरामीका लागि पनि रगत उपलब्ध गराउदै आएको छ । वैद्यले मरणोप्रान्त त्रि.वि.वि. शिक्षण अस्पताललाई शरिर दान पनि गर्नुभएको छ ।

फाउन्डेसनले हालसम्म वेवारिसे ५८,९७४ जनाको लाश जलाउन सहयोग समेत गरेको छ । फाउन्डेसनको केन्द्रिय कार्यालय बबरमहलमा बेवारिसे शवको दाहसंस्कारका लागि सहयोग गर्न स्वेच्छिक सहयोग बक्स समेत राखिएको छ । कसैको पनि मृत्युपर्यन्त पैसाको अभावमा शव जलाउन समेत नपाउने अवस्था नआओस भनेर सहयोग गर्ने उदेश्यका साथ ०३५ सालबाट फाउन्डेसनले लास जलाउनका लागि आर्थिक सहयोग गर्दै आएको अध्यक्ष वैद्यले बताउनु भयो । वैद्यकै पहलमा काठमाडौंको पशुपति आर्यघाटमा मात्र नभएर देशका जुनसुकै स्थानमा शव जलाउन तथा मृत्यु संस्कारका लागि आर्थिक अभाव भएको जानकाी आएको अवस्थामा सहयोग गर्दै आएको र यो अभियानले निरन्तरता पाउने फाउन्डेसनका सदस्य सचिव समेत रहेका डा. एम पी. शाहले जानकारी दिनुभयो ।