एकदिवसीय सिरिजमा लगातार नामिवियासँग पराजित नेपालले टी– २० सिरिजमा पनि नमिठो पराजय व्यहोरेको छ ।
पहिलो टी–२० मा नेपालमाथि नामिबियाले २० रनको जित निकालेको छ। २०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा १८६ रनमा अलआउट हुँदा सिरिजमा नामिबियाले विजयी सुरुवात गर्यो। सिरिजमा अब नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ।
नेपालका ओपनर कुशल भुर्तेल नामिबियाका रुबेन ट्रम्पलम्यानको एलबिडब्लूको धरापमा पर्दा गोल्डेन डकआउट भए। अर्का ओपनर आसिफ शेखले ६ रन जोडेर आउट भए ।
कप्तान रोहित पौडेलले २४ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रनको योगदान गरे ।
कुशल मल्लले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। गुल्सन झा ६ बलमा १२ रन जोडेर आउट भए भने सन्दीप जोराले ५ रन जोडे। विवेक यादव पनि ६ रनमा आउट भए।
त्यसपछि सोमपाल कामीले ११ बलमा १ चौका र ३ छक्काको मद्दतमा २६ रन जोड्ेर आशा जगाए पनि उनी पनि आउट भएपछि दबाब बढ्यो ।
१९औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी ४८ रनमा आउट भए। उनले ३२ बलमा २ चौका र २ छक्का प्रहार गरे । उनी आउट भएपछि नेपालको हार लगभग तय भएको अनुमान लगाईएका बेला अभिनास बोहरा बोल्ड हुँदा नेपाल पराजित भयो। बलिङमा नामिबियाका ट्रम्पलम्यानले चार विकेट लिए ।
मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४ विकेटको क्षतिमा २०६ रन जोड्यो।
नामिबियाका लागि जान निकोल लेफ्टी इटनले विश्वकीर्तिमानी शतक प्रहार गरे। उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको नाममा रहेको विश्वकीर्तिमान तोड्न सफल भए। कुशलले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए।
१०१ जोडेर आउट भएका उनले ३६ बल खेल्दा ११ चौका र ८ छक्का प्रहार गरे।
नामिबियाका लागि ओपनिङ ब्याटर मलन क्रुगरले नटआउट ५९ रनको योगदान गरे।
११ ओभरमा ३ विकेट गुमाउँदा ६६ रन जोडेको नामिबियाले नेपालविरुद्ध पछिल्लो ९ ओभरमा १४० रन जोडेको थियो।
पावरप्लेको अन्तिम बलमा नेपालका करण केसीले नामिबियाका ओपनर भान लिङगेनलाई २० रनमा गुल्सन झाबाट क्याच गराएका थिए।
नवौं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई विवेक यादवबाट क्याच गराए। ११ रन बनाएर खेलिरहेका कोट्जेको प्रहारलाई विवेकले बाउन्ड्री नजिक उत्कृष्ट क्याच गरेका थिए।
यस्तै रोहितले ११औं ओभरमा नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो विकेट लिने क्रममा नामिबियाका जान फ्राइलिंकलाई ५ रनमा बोल्ड गरेका थिए।
बलिङमा नेपालका कप्तान रोहितले २ विकेट लिँदा करण केसी र अभिनास बोहराले १–१ विकेट लिए।