लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। उनले पार्टी परित्याग गरेपछि महन्त ठाकुर अब एक्लिएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्।
महतोले राष्ट्रिय मुक्ति आन्दोलनका घोषणासमेत गरेका छन्। ‘मैले यो अभियानमा आउन मेरो पूर्व पार्टीलाई पनि आह्वान गरेको छु,’ उनले भने।
महतोले संविधान जारी भएपछि ६ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको बताए।
‘संविधान निर्माणको क्रममा भएको ऐतिहासिक मधेस–थरूहट आन्दोलनलाई पहाड विरोधी, जातिय, सम्प्रदायिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुप्रचार गरी यसै बहानामा दुष्मन देशका दुष्मन नागरिक सरह बर्बरतापूर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरिरहे, बलिदान दिइरहे,’ उनले भने, ‘तर दुःखद् कुरा मधेस–थरूहटका जनताको हार भयो, आन्दोलन तुहिन गयो।’
अहिले भएको लिम्बुवानलगायत अन्य आदिवासी जनजातिहरूको पहिचानवादी आन्दोलन पनि सफल हुन नसकेको उनको भनाइ छ।
‘महतोले केही समयदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग फरक मत राख्दै आएका थिए। उनले राष्ट्रिय मुक्ति आन्दोलन अभियान भएको र अहिले नै पार्टीको स्वरूप गठन गरिनसकेको बताए।