वित्तीय विवरण म्यानुप्युलेट गरी आइपिओ ल्याउने खेलमा धितोपत्र बोर्ड मतियार बन्यो : प्रदिप यादव

वित्तीय विवरण म्यानुप्युलेट गरी आइपिओ ल्याउने खेलमा धितोपत्र बोर्ड मतियार बन्यो : प्रदिप यादव

  • आइतवार, फाल्गुन १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं, १३ फागुन ।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले धितोपत्र बोर्डकै मिलेमतोमा घाटामा रहेका कम्पनीको नाफा देखाएर आइपिओ ल्याउने गरेको आरोप लगाएका छन् । अडिटरमार्फत नाफा देखाई बोर्डमा निवेदन दिने र बोर्डले पनि चेकजाँच नगरी जस्तोसुकै कम्पनीलाई आपिओ निष्कासनको स्वीकृति दिइरहेको उनको दाबी छ ।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा यादवले भने, ‘अडिटरमार्फत मुनाफा देखाई धितोपत्र बोर्डमा निवेदन दिन्छन् । धितोपत्र बोर्डले चेकजाँच नगरी जस्तोसुकै कम्पनीलाई आइपिओ निष्कासनको स्वीकृति दिन्छ । उदाहरणका रूपमा घोराही सिमेन्ट, सोनापुर मिलरल्स एन्ड आयल कम्पनी, नेपाल वेयर हाउस कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी आइपिओ निष्कासनअघि ग्रिन जोनमा थिए । तर, आइपिओ निष्कानपछि रेडजोनमा गए । किनकि आइपिओ निष्कासनअघि लगानीकर्तालाई आकर्षित गर्न वित्तीय विवरण नै म्यानुप्युलेट गरिएको हुन्छ ।’
यस्ता कम्पनीले वित्तीय विवरण ‘म्यानुप्युलेट’ गरी रिजर्भमा रहेको रकमसमेत नाफामा देखाउने गरेको प्रमुख सचेतक यादवको दाबी छ । उनले भने, ‘धेरैजसो कम्पनीको भ्याट मुद्दा, विद्युत् बक्यौताको मुद्दा चलिरहेको छ अदालतमा। कतिपय कम्पनीलाई प्रिमियममा आइपिओ निकाल्न अनुमति दिइयो ।’
कम्पनीमा लगानीको जोखिम मूल्यांकन गर्ने केयर रेटिङ नेपाल र इक्रा नेपाल एजेन्सीको समेत बोर्डले नियमन नगरेको भन्दै यादवले असन्तुष्टि जनाए । ‘मैले पाएको सूचनाअनुसार यी एजेन्सीहरूले गैरकानुनी रूपमा रेटिङ बढाउँछन्। र, धितोपत्र बोर्ड दुधको रखवाल बिरालोजस्तो भएर बसेर हेरिरहन्छ,’ उनले भने, ‘रेटिङ एजेन्सीले पूर्वाग्रही भएर रेटिङ गर्दा मिहिनेत गरेर कमाएको पैसा डुब्ने जोखिम हुन्छ। यहाँसम्म कि रेटिङ कम्पनीको सम्पर्कमा रहेर मार्केट बढाउने केही प्लेयर छन् । यी प्लेयरहरू रेटिङ कम्पनीसँग मिलेर सेयर बजारमा लगानी गर्छन् । जब सेयर बजार केही माथि जान्छ, अनि साधारण लगानीकर्तालाई के लाग्छ भने यो सेयरमा लगानी गर्नुपर्छ, धेरै माथि गइरहेको छ । गरिब, निमुखाले पनि धमाधम लगानी गर्छन्। अनि ती प्लेयर, ती बिचौलियाहरू आफ्नो पैसा झिक्छन् र बजार एकैपटक तल झर्छ । आम लगानीकर्ता डुब्छन् ।’
नेपाली सेयर बजारमा गम्भीर अपराधहरू भइरहे पनि नियामक निकाय धितोपत्र बोर्ड नै मुख्य मतियार बनेर सीमित व्यापारीलाई पोस्न उद्दत रहेको यादवको भनाइ छ । ‘नेपाली सेयर बजारमा भइरहेको यो गम्भीर अपराधमा नियामक निकाय धितोपत्र बोर्ड नै मुख्य मतियार बनेर लगानीकर्तामाथि ज्यादती गरेर सीमित व्यापारी र माफियालाई पोस्न उद्यत् रहेको छ । ३२ खर्ब लागनी रहेको नेपाली सेयर बजार अत्यन्तै गम्भीर संकटपूर्ण अवस्थामा पुगेको छ,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ