सङ्क्रमणकालीन न्यायसँग जोडिएको विषय केही दिनभित्रै टुङ्गो लगाइने : प्रधानमन्त्री

सङ्क्रमणकालीन न्यायसँग जोडिएको विषय केही दिनभित्रै टुङ्गो लगाइने : प्रधानमन्त्री

  • शुक्रबार, फाल्गुन ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौँ, ११ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियासँग जोडिएको विषयलाई केही दिनभित्रै टुङ्गो लगाइने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित २३औँ मजदुर बलिदान दिवस एवं पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी केही दिनभित्र समितिबाट सो विधेयकलाई टुङ्गो लगाएर सदनमा लगेर पारित गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उक्त विधेयक सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति उचित सम्मान हुने उहाँको भनाइ छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुङ्गिएकाले नै सहिद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पूर्ण रुपमा पाउन नसकेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । शान्ति प्रक्रिया पूरै टुङ्ग्याएपछि जनयुद्ध दिवस पुनःमनाइने र बिदा दिइने उहाँको भनाइ थियो ।

पहिलो पटक नै जनयुद्ध र सहिदको सम्मान गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राजपत्रमा प्रकाशित हुन नसक्दा सम्मान पाउन नसकेको भए पनि यसपटक सम्बोधन गरिएको उल्लेख गर्नुभयो । राज्यले यसपटक सम्मान गरेको र छुटेकालाई समावेश गरिएको उहाँले बताउनुभयो । राज्यको तर्फबाट सम्मान गर्ने प्रक्रियाको ढोका खुलेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

“शान्ति प्रक्रियाका केही काम बाँकी रहेका र टुङ्गो नलागेकाले राज्यबाट पाउनुपर्ने परिपूरण, सम्मान, परिवारलाई रोजगारीलगायत विषयलाई विधेयकमा समावेश गरिएको छ । सबै सहिद, बेपत्ता योद्धाप्रति राज्यका तर्फबाट राष्ट्रिय सम्मान गरिएको र विधेयक पारित भएपछि थप सम्मान प्राप्त हुने छ”, उहाँले भन्नुभयो ।

जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरी सार्वजनिक बिदा दिइएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सक्रमणकालीन न्यायसँग जोडिएका विषय निष्कर्षमा पुगेपछि पुनः राष्ट्रिय दिवसका रुपमा मनाइने बताउनुभयो । संविधानमा नै समाजवाद उन्मुख राज्य लेखिएको स्पष्ट पार्दै उहाँले केही व्यक्ति प्राप्त भएको उपलब्धी उल्ट्याउने कोशिसमा लागेका भए पनि त्यो सफल नहुने बताउनुभयो ।

सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एक अर्कामा जोडिएको अभिन्न विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दहालले ती विषय प्राप्त नगर्दासम्म समाजवाद स्थापना हुन नसक्ने स्पष्ट पार्नुभयो । सहिदले बलिदान गरेर स्थापना गरेको परिवर्तनप्रति प्रतिक्रान्तिकारी शक्तिले धावा बोल्ने प्रयास गरेको भए पनि त्यसका विरुद्ध मजदुर वर्गले प्रतिवाद गर्नु जरुरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा मजदुर आन्दोलनसँग जोडिएका विषयवस्तु समेटिएको पुस्तक प्रधानमन्त्री दाहालले सार्वजनिक गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ