काठमाडौंको स्वयम्भूमा एक पुरूषले आफ्नी दुई छोरी र श्रीमतीको हत्यापछि आफूले आत्महत्या गरेका छन्।
बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा एकै परिवारका तीन जना मृत फेला परे। खबर पाए लगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो ।
ओखलढुंगा घर भई डेरामा बसिरहेका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठलाई घरेलु हतियार प्रहार गरी हत्या गरिएको देखिएको प्रहरी स्रोतले बताएको छ ।
घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतका अनुसार ईश्वरीका ३७ वर्षीय श्रीमान राजु घिमिरेले आफैंले घटना घटाएपछि सालोलाई सम्पर्क गरेका थिए ।
‘बिहान घटना भइसकेपछि मैले सबैलाई मारेँ, अब म पनि मर्छु भनेर हिँडेका रहेछन्,’ उनले भने, ‘सालोलाई फोनमा त्यस्तो भनेपछि प्रहरीलाई खबर भएको हो।’
त्यसक्रममा नागार्जुन नगरपालिका–३ हरिसिद्धी जंगलको एउटा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
उनी पनि मृत फेला परेको प्रहरी स्रोतले बताएको छ । घटनाको कारण भने खुलेको छैन ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।