सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच वर्तमान सत्ता गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्ने सहमति भएको छ।
गत चुनावमा गठबन्धनबाटै मत मागेर गठबन्धनको बहुमत आएकाले वर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति सभापति देउवा र महामन्त्री थापाबीच भएको स्रोतको दावी छ ।
महासमिति बैठकमा महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रस्तावमा आउँदो चुनावमा कांग्रेस एक्लै चुनाव लड्नेगरी पार्टीलाई बलियो बनाउने सहमति भइसकेको भए पनि हाललाई सोही गठबन्धन सरकारलाई बलियो बनाउने विषयमा सोमबार मध्यराति सहमति भएको बताईएको छ ।
गठबन्धनको बिपक्षमा गगनको प्रस्ताव र अडानपछि देउवा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न बालुवाटा पुगेका थिए । उनले रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई सँगै लिएर गएका थिए । सो क्रममा देउवाले आगामी चुनावका बारेमा जे जे निर्णय भए पनि हाललाई गठबन्धनको सरकार कायम राख्ने आस्वस्त पारेर फर्किएका थिए ।
त्यसपछि वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने कुरामा महामन्त्री थापा सहमत भएको स्रोतले दाबी गर्यो ।
ललितपुरको गोदावरीमा जारी काँग्रेस महासमितिको बैठकमा पनि यो विषयमा छलफल हुने बताईएको छ ।