जनकपुरधाम, फागुन ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा उनलाई गठबन्धन दलका सांसदहले विस्वासको मत दिएका हुन् । यादवको पक्षमा ६९ र बिपक्षमा ३५ मत परेको थियो ।
प्रदेश सभामा १०७ जना सदस्य रहेकोमा आजको बैठकमा १०४ जनाको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री यादवको पक्षमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा नेपाल, सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए ।
मुख्यमन्त्री यादवको विपक्षमा नेकपा (एमाले) र जनमत पार्टीले मतदान गरेका थिए। मधेश सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान बमोजिम मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिएका हुन् ।
सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ । मधेस प्रदेश सरकारमा १०७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।
प्रदेश सभामा सबैभन्दा ठुलो दलको रूपमा रहेको एमालेको २३, कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा (माओवादी केन्द्र) को नौ र नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टीको एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र तीन जना स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले जानकारी दिए ।
आजको बैठकमा विभिन्न दलका नेताले सरकारको कामकाजको आलोचना समेत गर्नुको साथै सरकारसँग विभिन्नखालका प्रश्नहरू राखेका थिए । बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री यादवले आफू सदैव राम्रो कामको पक्षमा रहेको र आउने दिनमा पनि राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।