फाल्गुन ६, काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताले प्रधानमन्त्रीले भनेजस्तो अर्थतन्त्र सुधारको अनुभूति गर्न नपाएको बताएका छन् ।
पार्टीको महासमिति बैठकको सम्मुखमा आइतबार आफैँले गरेको चियापान कार्यक्रममा नेता कोइरालालेसरकार आफैँले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रो छ भनेर विश्वास गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारमा सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाए । नेता कोइरालाले भने, “आज संसद्मा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारिएको कुरा गर्नुभयो । अर्थमन्त्रीले पनि त्यही भन्दै आउनुभएको छ, तर सरकारले भनेजस्तो अर्थतन्त्रमा सुधार आएको अनुभूति जनताले गर्न पाएका छैनन् । देशको आर्थिक अवस्था नाजुक अवस्थाबाट गइराखेको छ भन्ने मलाई लाग्छ ।”
सरकारले रेमिट्यान्सलाई देखाएर देशको अर्थतन्त्र सुधार भइरहेको दाबी गरेकाप्रति आपत्ति जनाउदैँ नेता कोइरालाले भने, “देशको आर्थिक अवस्थाको कुरा गर्दा आज पनि प्रधानमन्त्रीजीले संसदमा भन्नुभयो–आर्थिक सूचकांकहरु राम्रो हुँदैछ भनेर । तर जनताले त्यो सूचकांक राम्रो छ कि छैन ? भन्ने कुराको अनुभुति गरेको अवस्था छैन, सरकारको तथ्यांकमा रेमिट्यान्स बढेको बढ्यै छ ।त्यसमा सरकार खुसी भइरहेको छ । सरकारमा बस्ने हामी सबै नेपालीहरु खुसी छौं । तर के रेमिट्यान्स बढेर देशको समुन्नति सम्भव छ? कि अब पनि हामी रेमिट्यान्समै रमाउने हो ?” नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भनेर बेलैमा सोच्नुपर्ने उनको भनाई छ ।