रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने बाटो अवरुद्ध गरेको २४ घण्टापछि कर्फ्यू जारी गरिएको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्षबिच झडप भएको हो ।
मूर्ति लैजाने विषयमा विवाद सुरु भएपछि शुक्रबारदेखि नै एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीसँगै ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। आज भएको दोहरो झडपमा केही मानिसहरु घाईते भएका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले साँझ ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको बताइन् ।
घिउरा गाउँका स्थानीय शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँ छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेका थिए।
शुक्रबार दिउँसो दुई बजेदेखि मूर्ति सेलाउन जाने हिन्दु समुदायका मानिसहरू बाटोमै मूर्ति राखेर धर्नामा बसेका थिए । सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर मूर्ति सेलाउन दिने सहमति भएको थियो ।