काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपाललाई शुरुमै दुई विकेट पतन भए पछि दबाब बढेको छ ।
नेपाल र नामिबियाबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु भए लगत्तै पहिलो बलमै ओपनर कुसल भूर्तेल आउट भए । उनी शुन्य रनमै पेभिलियन फर्किदा लामो समयपछि राष्ट्रिय टोलीमा परेका अनील शाह पनि तेस्रो ओभरको पहिलो बलमा ८ रन बनाएर आउट भएपछि नेपालमाथि घरेलु मैदानमा संकट बढेको छ । दुबै विकेट नामिबियाका रुबेन ट्रम्फेलम्यानले लिएका हुन् ।
नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ को सुरुवात गर्न लागेको हो ।
नेपालले यो त्रिदेशीय शृङ्खलामा कुल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ ।
नामिवियासँगको पछिल्लो पाँच खेलमा नेपालले दुईमा जीत हात पार्दा दुईमा हार व्यहोरेको थियो भने एक खेल नतिजा बिहिन भएको थियो ।
आजको खेलमा बिजयी शुरुवात गर्ने नेपालको रणनीति छ । किनकि १२ देशबीच हुने खेलमा शीर्ष चार टोलीले सन् २०२७ मा सोझै विश्वकप खेल्न पाउने भएकाले पनि नेपाल उत्कृष्ट नतिजाको पक्षमा छ ।