काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले आज फैसला सुनाउने तयारी गरेको छ ।
बुधबार सुनाउने भनिएपनि संक्षिप्त आदेश लेख्न नभ्याएकाले हेर्दाहेर्दैमा राखेर बिहीबार फैसला सुनाउने विशेष अदालतले जनाएको छ ।
१७५ जना प्रतिवादीका हकमा आदेश गर्नुपर्ने भएकाले बुधबार नसकिएको र बिहीबार फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको भन्दै पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा चलाएको छ।
ललिता निवासको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लाग्ने पूर्वमन्त्रीहरूमा गच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्।
यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख दीप बस्न्यातलाई पनि भ्रष्टाचार मुद्दा लगाएको छ। उनलाई तत्कालीन भौतिक पूर्वाधार सचिवको हैसियतमा मुद्दा चलाएको हो।
पूर्वसचिव दिनेशहरि अधिकारी पनि यो मुद्दामा मुछिएका छन्।
जिल्ला अदालत चितवनका न्यायाधीश विनोद गौतमलाई पनि मुद्दा चलाइएको छ। उनलाई पूर्वउपसचिवको हैसियतमा मुद्दा चलाइएको हो।
भूमाफिया भनेर चिनिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित व्यापारी मिनबहादुर गुरूङलाई पनि अख्तियारले मुद्दा चलाएको छ। बालुवाटार जग्गा आफ्नै नाममा ल्याउन नक्कली मोही खडा गरेको आरोप उनीहरूमाथि छ।