एसिसी वुमन्स प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित निकालेको छ। आइतबार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ।
भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पार गर्यो। नेपालको जितमा सीता रानामगरले नटआउट ३२ रन र रुबिना क्षेत्रीले नटआउट १७ रन बनाए।
नेपालकी ओपनर कविता कुँवर ५ रन र कप्तान इन्दू बर्मा १ रनमै आउट भएका थिए।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमामएर ६५ रन जोड्यो। भुटानका लागि ओपनर नवाङ छोदेनले २५ रन जोडिन्। यस्तै छिरिङ जाङमोले १६ रन र डेचेन वाङमोले १७ रन जोडे।
नेपालका कप्तान इन्दूसहित कविता कुँवर, सीता रानामगर र कविता जोशीले १–१ विकेट लिए। समूह डी मा रहेको नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो।
नेपालले समूहको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ। सो खेल जितेमा नेपाल क्वार्टरफाईनल प्रवेश गर्नेछ ।