लेखनाथ, माघ २० गते । आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई ३–० गोलले पराजित गर्दै इतिहास रचेको छ । प्रतियोगिताको २३औँ संस्करणमा शनिबार भएको फाइनलमा आर्मीले पहिलो पटक आहा रारा उपाधि जितेको हो । आर्मीले १२ लाख एक हजार रुपियाँसहित ट्रफी हात पारेको छ ।
आर्मी यसअघि आहा रारामा चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको थिएन । उपविजेता बनेको थ्रिस्टारले छ लाख एक हजार रुपियाँसहित ट्रफीमा चित्त बुझाएको छ ।
खेलको ३८औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो । जिलेस्पीजंग कार्कीले हेडरमार्फत गोल गर्दै आर्मीका लागि खाता खोलेका थिए । सिद्धान्त चौधरीले दिएको पासलाई कार्कीले गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा फत्तमान घलेले आर्मीका लागि अर्को गोल थपे । ८३औँ मिनेटमा फत्तेमान घलेले गोल गर्दै अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा थपिएको छ मिनेटको अतिरिक्त समयमा आर्मीले अर्को गोल ग¥यो । आर्मीका लागि तेस्रो गोल वसन्त जिम्बाले गरे । आहा रारामा त्रिभुवन आर्मी र थ्रीस्टार पछिल्लोपटक २०७५ को फाइनलमा आमनेसामने भएका थिए । त्यति बेला ट्राइब्रेकरमा थ्रीस्टारले आर्मीलाई ५–४ ले पराजित गरेको थियो ।
खेलामा थ्रिस्टारले गोल गर्ने केही मौका पाए पनि उपयोग गर्न सकेन । थ्रिस्टारका प्रशिक्षक विक्रम लामाले आफ्नो टिमले पाएका केही मौका उपयोग गर्न नसक्दा पराजित भएको बताए ।
आर्मीका प्रशिक्षक मेघराज केसीले थ्रि स्टारले प्रभावशाली खेलेको भए पनि आफूहरुको स्टामिना र टिम वर्कका कारण विजयी भएको प्रतिक्रिया दिए ।