२० बर्ष अघि बनेका ऐन कानुनले विकास र सम्बृद्धि सम्भव छैनः मन्त्री महत्तो

२० बर्ष अघि बनेका ऐन कानुनले विकास र सम्बृद्धि सम्भव छैनः मन्त्री महत्तो

  • शुक्रबार, माघ १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, १९ माघ । वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महत्तोले सिमसार संरक्षणको बिषय नेपालको मात्र नभएर विश्वको साझा समस्या रहेको बताएका छन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन तथा भू–संरक्षण विभागले ‘विश्व सिमसार दिवस’ को अवसरका काठमाडौंका आयोजना गरेको कार्यशाला गोष्टिमा बोल्दै मन्त्री महत्तोले सिमसार (पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्र)को संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको औल्याए । तर वर्षमा एक पटक गोष्टि तथा सेमिनार राखेर मात्रै सिमसार क्षेत्रलाई बचाउन नसकिने तर्क पनि गरे ।

ताल ताल संरक्षण विकास समिति खारेजको बिषयमा अहिले बिरोध भईरहेको भन्दै मन्त्री महत्तोले वन मन्त्रालयका कर्मचारीले नै दोहोरो चरित्र देखाएको बताए । अहिले ताल खारेजीको बिरोध भईरहेको छ, यो खारेज गर्नुपर्छ भनेर टिप्पडि सहितको फाईल पनि वन मन्त्रालय बाट नै गएको हो नि । त्यतिबेला पठाउने अहिले बिरोध गर्ने ?उनले भने, खारेज गर्नुहुँदैन थियो भने किन खारेज गर्नुपर्छ भनेर पठाएको त्यो पठाउने वन मन्त्रालयकै कर्मचारी हैनन् ?

शहर तथा बस्तीबाट फोहर नदी, खोलामा मिसाउने कार्य नरोकिएसम्म पानीमा सुद्धता नआउने उनको भनाई थियो ।

मन्त्री महत्तोले २० बर्ष अघि बनेका ऐन कानुनले विकास र सम्बृद्धि सम्भव नभएको पनि बताए । समय क्रमसँगै ऐन कानुन पनि परिमार्जन संसोधन हुँदै जानुपर्नेमा उनको जोड थियो । कार्यान्वयन गर्नुपर्ने कतिपय बिषयमा कानुनमा लेखिएको कुरा छाडेर कर्मचारीले आफ्नो धारणा मिसाईदिने गरेप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।

मन्त्री महत्तोले ९४ करोडको वजेट रहेको चुरे बचाउ अभियान नेता र पावरवाला मन्त्रीको घर छेउका पोखरी र नदीमा मात्रै सिमित रहेको बताए । चुरेको छेउमा एउटा पनि काम भएको छैन उनले भने, हामी जस्तै नेता मन्त्रीको घर छेउको पोखरी बनेको छ सौन्दयकरण भएको छ नदी नियन्त्रण भएको छ तर चुरेमा एक रुपैया पनि खर्च भएको छैन ।
बिदेशी लगानी आएपनि जुन बिषयमा आएको हो त्यहि क्षेत्रमा दिर्घकालिन काम गर्नुपर्नेमा अहिले त्यसको विपरित अवस्था रहेको बताए ।

यस्तै सोहि कार्यक्रममा वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले सिमेन्टको प्रयोग गरेर सिमसार क्षेत्रको संरक्षण गर्नु गलत भएको बताए । सिमसार क्षेत्रलाई प्राकृतिक रुपमा नै हन दिनुपर्नेमा उनको जोड थियो ।सिमेन्ट प्रयोग गरेर सिमसार बनाउने कार्य बन्द गर्नुपर्ने भन्दै सहसचिव डा ढकालले भने, ‘भुरसंक्षण अन्तरगत बनेका धेरै पोखरी सिमेन्टका रहेका छन, मोनिटरिगं गर्न जाँदा लाजलाग्दो अवस्था छ, केहि ठाउँमा जान्न पनि भनेको छु, यो सिमेन्ट प्रयोग गरेर सिमसार बनाउने कार्य बन्द गरांै ।’


हिमाल बाट पग्लेर आउने र आकाशको बर्षाको पानी नै पानीको मुख्य श्रोत भएकोले ताल तलैजाको संरक्षण गरेनौ भने भोली द्धन्द हैन युद्ध नै हुन्छ सहसचिव डा ढकालले भने । नेपालको सिमसार नै पानीको मुख्य स्रोत भएकाले तीनै तहको सरकारले सिमसार क्षेत्रको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । यदि नेपालका सिमसार क्षेत्र संरक्षण नगर्ने हो भने नेपालमा पनि भविश्यमा पानीको हाहाकार हुन सक्ने अवस्था आउन सक्ने बताए ।

यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्ण प्रसाद ओलीले बिदेशी दातृ निकायले लगानी गरिदेला र नेपालको सिमसार क्षेत्रको संरक्षण गर्छौ भन्ने सोच गलत भएको बताए । उनले पानीको संरक्षणको लागि सरकारले भुसंरक्षण क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनको जोड थियो । भुसंरक्षणको क्षेत्रमा सरकारले ठूलो लगानी नगरे भविश्यमा भयावह स्थीति आउने सक्ने पनि उनको तर्क थियो ।
उनले अब हिमालबाट नभएर जमिनको पानी नै भविश्यमा पिउन योग्य पानी रहने भएकाले ताल तथा पोखरी बनाएर पानी संरक्षण गर्नुपर्ने बताए ।नेपालमा थुप्रै सिमसार क्षत्र भएपनि त्यसको उचित संरक्षण हुन नसकेकोले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेकोमा जोड दिए ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिव वाग्लेले मानव जीवनसँग जोडिएको पानी जोगाउन लागि सिमसार क्षेत्र संरक्षण महत्वपूर्ण भएको बताए । समुन्द्रको पानी खान नमिल्ने भएकाले फ्रेस वाटर(खानेपानी)को संरक्षण गर्न जमिन मुनी नै संचित गरेरराख्नुपने उनको भनाई थियो ।

गोष्ठिमा डा शैलेन्द्रकुमार पोख्रेलले सिमसार कार्यान्वयनमा विश्वव्यापि र राष्ट्रिय परिदृश्य, डा. राजेश कुमार राईले वेटल्यान्डको सामाजिक आर्थिक गतिशीलता, दिपक ज्ञवाली र बद्रिनाथ ढुंगानाले सिमसार वातावरणका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस वर्षको ‘विश्व सिमसार दिवस’को नारा ‘सिमसारः मानव हितको आधार’ भन्ने तय गरिएको छ । सिमसार क्षेत्रहरूको द्रुत क्षतिलाई रोक्दै सिमसार संरक्षणका कार्यलाई प्रोत्साहत गर्न जनचेतना जगाउने उदेश्यले प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा विभिन्न कार्यक्रम गरेका छन् ।

सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो । सन्धिको पक्षधर भएकाले नेपाल सिमसार संरक्षणका लागि कानुनी रूपमा प्रतिबद्ध छ ।

रामसार सूचीमा हाल नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत रहेको छ। यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैवविविध बासस्थानमध्ये एक हो, र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । संसारको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् । साथै सिमसारको समृद्ध जैविक विविधताले संसारभरका मानिसको जीवनको गुणस्तर, खाद्य सुरक्षा र पोषणमा समेत टेवा पुग्छ ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । त्यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।

विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ