रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरुलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।
सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरुको आग्रह छ । रुसी सेनाबाट भागेर नेपाल फर्केका खोटाङका सुमन राईले नेपालीहरुलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताए । उनले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरु बाँच्ने अवसर शुन्य बराबर हुने बताए ।
राईले रुसी सेनाले नेपालीहरुलाई सबै भन्दा अगाडि लगाइ युद्ध गराउने गरेको बताए । युक्रेनीहरु क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालीरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने, रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपाली मरिरहेको उनले बताए ।
राईका अनुसार अहिलेसम्म सार्वजनिक नभएको भएपनि ५ सय भन्दा बढी नेपालीहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरुलै छिटो भन्दा छिटो उनीहरुलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे ।