सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले बहुचर्चित साढे ३३ किलो सुन तस्करीका योजनाकारमध्ये एक चूडामणि उप्रेती गोरेुसँग बुधबार बयान लिएको छ । केन्द्रीय कारागार सुन्धाराभित्र कैद सजाय काटिरहेका साढे ३३ किलो सुन प्रकरणका आरोपी ‘गोरे’सँग आयोगले सिंहदरबारमा बयान लिएको छ।
केन्द्रीय कारागारको गोलघरभित्र रहेका गोरेलाई आयोगले सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा रहेको कार्यालय बोलाएर बयान लिएको एक सदस्यले जानकारी दिए । गत असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित उक्त आयोगले गोरेसँग बयान लिएको हो ।
त्यसैगरी आयोगले साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको साढे ६० किलो सुनबारे अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख र अनुसन्धान अधिकृतसँग पनि यसबारे सोधपुछ गरेको छ।
लामो अनुसन्धान गरेका सीआईबीका अधिकारीसँग सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोगका लागि सोधपुछ गरिएको आयोगसम्वद्ध स्रोतले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा तस्करीको सुन भित्रिएकोबारे छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।