पानी जेटबोटले सहज बन्दै भोजपुरको यात्रा

पानी जेटबोटले सहज बन्दै भोजपुरको यात्रा

  • आइतवार, माघ १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

भोजपुर, १४ माघ : भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।

यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आएका थिए । वर्षात्को समयमा बाहेक हतुवागढी–९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ । दक्षिणी क्षेत्रका स्थानीय जेटबोट चढेर जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत ठाउँमा पुगेर घर फर्कने वातावरण बनेको स्थानीय इन्द्र थापाले बताउनुभयो । भिरको बाटो तीनदेखि चार घन्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने अवस्थामा जलयात्राले सहजता भएको उहाँको भनाइ थियो ।

जलयात्राबाट चतरासम्मको करिब १९ किमी दूरी २० देखि २५ मिनेटमा पुगिने थापाले जानकारी दिनुभयो । “स्थानीयलाई आवागमनका लागि पानी जेटबोट सञ्चालनले धेरै सहज भएको छ”, उहाँले भन्नुभयो, “सडकका माध्यमबाट यात्रा गर्न नदीमा पुल छैनन् । वर्षात्को समयमा अलि कठिन भए पनि हिउँदमा जलयात्रा गरेर एक दिनमा तराईका सहरमा पुगेर फर्कनसक्ने वातावरण बनेको छ ।”

स्थानीयले १९ किमी यात्रा गरेको रू छ सय भाडा तिर्दै आएका छन् । अरुण नदीमा जेटबोट सञ्चालनले बिरामी हुँदा सहरका ठूला अस्पतालमा छिटो पुगेर उपचार गर्न सहजता थपिएको स्थानीय लालबहादुर प्रधानले बताउनुभयो ।

भोजपुर सदरमुकाम भएर लेगुवा, हिले, घनकुटा हुँदै तराई झर्न करिब दुई किमी पर्ने भन्दै दक्षिणी भेगका स्थानीयका लागि यो जेटबोटले धेरै सुगमता थपेकोे उहाँको भनाइ थियो ।

“हामीलाई भोजपुर सदरमुकाम भएर यात्रा गर्न धेरै लामो दूरी हुन्छ”, प्रधानले भन्नुभयो, “जेटबोट सञ्चालनमा आएपछि कम समयमा यात्रा गर्न सकेका छौँ । बिरामी हुँदा चाँडो उपचार लिनसक्ने वातावरण बनेको छ । यसले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

जेटबोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोडेको गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधारको विकासमा पालिका जुटेको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । जेटबोट सञ्चालन भएसँगे हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यहाँको विकासमा टेवा पुग्ने उहाँको भनाइ थियो ।

अध्यक्ष राईले भन्नुभयो, “दुई ठूला नदीमा पुल निर्माण गर्न ढिलाइ हुँदा सवारीसाधनको आवतजावतमा समस्या भएको थियो । जलयात्रालाई पर्यटनसँग जोडेर विकासमा जुटेका छौँ ।” उहाँका अनुसार सवारीसाधन सञ्चालनका लागि भोजपुर र उदयपुरलाई जोड्ने चुहारको दूधकोशी र भोजपुर तथा धनकुटालाई जोड्ने सुनवालुवामा पुल नहँुदा स्थानीयलाई समस्या हुँदै आएको छ । यी दुवै नदीमा पुल बनाउने कामको थालनी गरिएको भए पनि निर्माणमा भने ढिलाइ भइरहेको छ ।

यहाँका नदीमा पुल बनेपछि हतुवागढीबाट धरान, इटहरी, विराटनगरलगायत तराईका ठूला सहर करिब ६०÷६५ किमीको दूरीमा मात्र रहने भएकाले पर्यटकको आवागमन बढ्ने अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु तथा कञ्चनजङ्घालगायत हिमाल र तराईका फाँटको अवलोकन गर्न सकिने भएकाले पर्यटनको राम्रो सम्भावना छ ।

गर्मीयाममा तराईबाट गर्मी छल्न, चिसो हावापानीमा रमाउन, मनमोहक दृष्यको दृष्यावलोकन गर्न तथा नयाँ पर्यटकीयस्थलको भ्रमण गर्न चाहनेका लागि यो स्थान महत्वपूर्ण गन्तव्य बन्ने अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले गौरवको आयोजनाका रुपमा घोडेटार बजार–गढी–सङ्खामचुली जोर आहाल–दिमालुङ्ग पार्क जोड्ने पैदलमार्गको निर्माण भइरहेको छ ।

योसँगै विशेष गरेर किरात समुदाय आस्थाको केन्द्र खुवालुङ्गलाई शुभारम्भ प्रस्थान बिन्दुका रुपमा विकास गरी समुद्र सतहबाट एक सय ५३ मिटर उचाइ मात्र रहेको भोजपुरको सबैभन्दा होचो भूभाग माइबेनीलाई समेट्दै गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको बृहत्तर विकास गर्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी