दाङ, २८ पुस । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा मृत्यु हुनेकाे संख्या १२ पुगेको छ ।
नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो ।
५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको छ ।
धेरैजसोको बसले च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले बताए ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार हालसम्म चार यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।
मृत्यु हुनेहरुमा ६० वर्षे कुसुम बस्नेत, ३९ वर्षे सौरभ विष्ट, ६५ वर्षे तारानाथ पाण्डे, ३१ वर्षे भारतीय नागरिक मुने छन् ।
दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचवटा एम्बुलेन्समा घाईतेलाई शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो ।
प्रहरी बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।
भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । घटना के, कसरी भयो भन्नेबारे थाहा हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीसहित ३५ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका प्रमुख एस्पी गोपालप्रसाद श्रेष्ठसहित ४५ सशस्त्र प्रहरी र जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लसहित ६ जना ट्राफिक प्रहरी उद्धारमा खटेको छ ।