पुस २७,दाङ । दाङको राप्ति गाउँपालिका १ स्थित राप्ती पुलबाट यात्रुबाहक रात्री बस नदीमा खसेको छ । यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।
दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले पुष्टी गरे । राति साढे ११ बजेसम्ममा ५ जनाको मृत्यु र २५ जना घाइतेको उद्धार भएको ईलाका प्रहरी कार्यालय भालुबाङले बताएको छ । मृतकको सनाखत हुन बाँकी रहेको र अन्य विवरण संकलन भइरहेको सिंहले बताए ।
घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी टोलीले उद्धार जारी राखेको छ । केही घाइतेलाई अस्पताल लगिँदैछ ।
भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमै बस पुलको दाँयातर्फबाट पुलको रेलिंग भत्काएर नदीमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको भनाई छ ।