‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार

‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार

  • आइतवार, पुस २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २२ पुस : निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताउनुभयो । शनिबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिनुभयो ।

“अहिलेका कलाकार सम्पूर्णरूपमा तयार भएर आउनुहुन्छ । उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्व हुनुहुन्छ”, निर्देशक श्रेष्ठले भन्नुभयो, “मैले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँलाई अवसर दिएको छु । किनकि हामी पुराना चलचित्रकर्मीले आँट गरेनौँ भने अरुले गर्दैनन् ।”

यद्यपि निर्देशक श्रेष्ठले अहिले नयाँ कलाकारलाई अवसर दिँदा केही सास्ती भने खेप्नुपरेको अनुभव सुनाउनुभयो । “नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ । मेरो तीन दशकको चलचित्र यात्रामा नौलो अनुभव गरिरहेको छु”, निर्देशक श्रेष्ठले भन्नुभयो । उहाँले नयाँलाई काम देखाउने मौका दिन आग्रह पनि गर्नुभयो । नवकलाकार अभिनेता श्रेष्ठले आफूलाई ठूलो पर्दामा देख्ने सपना पूरा हुनलागेको बताउनुभयो ।

“मैले मण्डला थिएटरमा झण्डै १३ बढी नाटक गरिसकेँ । सात वर्षपछि बल्ल चलचित्रमा अभिनयको सुरुआत गरेको छु”, अभिनेता श्रेष्ठले भन्नुभयो, “म कलात्मक र व्यावसायिक दुवै चलचित्र गर्न चाहन्छु । परिपक्व समूहसँग काम गर्न पाउँदा आभारी छु ।”

अभिनेत्री बुढाथोकीले पहिलो चलचित्र भएता पनि निर्देशक श्रेष्ठसहितको समूहका कारण काम गर्न सहज भएको बताउनुभयो । “मैले आफूलाई नयाँजस्तो कहिले महसुस गरिनँ । सबैले मलाई सहज बनाएकै कारण आफ्नो भूमिकालाई जीवन्त बनाउन सफल भएँजस्तो लाग्छ । यसकारण पनि यस क्षेत्रमा निरन्तरता दिन उत्साहित भएकी छु”, अभिनेत्री बुढाथोकीले भन्नुभयो ।

चलचित्रका निर्माता राजाराम बुढाथोकीले नेपालसँगै सिक्किमको मनोरम दृश्यमा चलचित्रको छायाँकन गरिएको जानकारी दिनुभयो । “मैले एउटा राम्रो चलचित्र बनाउने कोसिस गरेको हुँ । निर्देशकले नयाँलाई अवसर दिनुपर्छ भनेपछि प्रेमकथानक लिएर निर्माण गरेका छौँ”, निर्माता बुढाथोकीले भन्नुभयो ।

कार्यक्रममा सङ्गीतकार महेश खड्का, गायक प्रमोद खरेल, अभिनेत्री सुनिता श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो । चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईले पनि अभिनय गर्नुभएको छ । चलचित्रलाई काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी