लेखनाथ, पुस १८ गते। राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लाई अदालतले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले गुरुङसहित सूर्यदर्शन सहकारीका सञ्चालक भविश्वर अर्याललाई थुनामा पठाउन आदेश भएको जानकारी दिए ।
उनीहरूविरुद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि फरार रहेका दुवै जना मंगलबार अदालतमा हाजिर भएका थिए। मङ्गलबार थुनछेक बहस नसकिएपछि उनीहरूलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो।
गुरुङ गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट कास्कीको मादी गाउँपालिका अध्यक्षको उम्मेदवार थिए।
राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहेका गुरुङ सूर्यदर्शन सहकारी सञ्चालक समितिका पूर्व सदस्य थिए। उनले सहकारीको नौ करोडभन्दा बढी हिनामिना गरेको पोखरा महानगरले गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १० घर भएका सञ्चालक समिति सदस्य अर्याल सूर्यदर्शनकै आइटी प्रमुख थिए। यसअघि सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए। उनीहरू पुर्पक्षका लागि जिल्ला कारागार चलान भइसकेका छन्। उक्त सहकारीका जिबी राई सहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा अझै १५ जना फरार छन्।
सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ। जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो। यो सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जीवी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने प्रक्रियाअघि बढाएको छ।