नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज शनिबार साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ। जुन टोलीले जिते पनि नयाँ च्याम्पियन हुनेछ ।
धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।
अंक तालिकाको चौथो स्थानमा रहँदै एलिमिनेटरमा स्थान बनाएको ललितपुरले साविक विजेता काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। पहिलो पटक फाइनलमा पुगेको ललितपुर उपाधि होडमा छ। एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ। लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन्।