२९ मंसिर, जनकपुरधाम । धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो ।
बिहीबार बेलुका ७ बजे शव फेला परेको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । शवको प्रकृतिले घटना शंकास्पद देखिएको प्रहरीले आशंका गरेको छ ।
बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् । सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएकी थिइन् । रथबाट २÷३ जना युवकले उनलाई तल उतारेका थिए । सबैजना घर फर्किए पनि बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।
खोजविनको क्रममा बालिकाको शव खेतमा खनेको खाल्डोमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जानकारी दिए ।
राति नै तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने प्रहरी निरीक्षक चौलागाईंले बताए ।
बालिकालाई रथबाट उतार्ने दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । बालिकालाई बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएपनि पोष्ट मार्टम पछि बलात्कार भएको हो होईन एकिन हुनेछ ।