काठमाडौँ मंसीर २६ । नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा मंगलबार भारतविरुद्ध खराब ब्याटिङ गरेको छ । यूएईमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा केबल ५२ रनमा अलआउट भयो । यू–१९ मा नेपालको यो सबैभन्दा न्युन स्कोर हो ।
दशौं नम्बरमा ब्याटिङ गरेका हेमन्त धामीले नेपालबाट सर्वाधिक ८ रन बनाए । अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए । दीपक र दीपेश कँडेलले सातौं विकेटमा जोडेको १२ रन नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी रह्यो । दीपेशले ४ रन बनाए । दीपक बोहरा ‘ए’ १, उत्तम थापामगर शून्य, कप्तान देव खनाल २, दीपक डुम्रे शून्य, सुवास भण्डारी २ रनमा आउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।
दाहिने हाते तीब्र बलर राज लिम्बानीले दुबईस्थित आइसीसी एकेडेमी मैदान २ मा ७ विकेट लिँदै नेपाली ब्याटिङक्रमलाई तहसनहस पारे । उनले ९.१ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर उत्कृष्ट प्रर्दशन गरे । आराध्य शुक्लाले २ र अर्शिन कुलकर्नीले १ विकेट लिए । प्रतियोगितामा नेपाल यस अघि पाकिस्तान र अफगानिस्तानसँग पराजित भएको थियो ।