जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम फैसला आएको छ। आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो। जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको छ।
जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु लगायत रहेका छन्।
यस्तै, नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो।
साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको रूकुम जिल्ला अदालत ९रूकुम पश्चिम० का स्रेस्तेदार मन्दिरा शाहीले सेतोपाटीलाई जानकारी दिइन्।
तीन दिनसम्म चलेको मुद्दाको अन्तिम सुनुवाइमा २३ जना वकिलहरूले बहस गरेका थिए।
सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले वादी ९पीडित० तर्फबाट बहस गरेका छन्।
२०७६ पुसमा खलंगामा लागेको रमाइलो मेलामा आएकी उनी चार दिनसम्म नवराजको घरमा बसेकी थिइन्। त्यसैबेला नवराज र युवतीबीचको वार्तालाप सुनेर नवराजकी आमाले उनीहरूबीच प्रेम सम्बन्ध छ भन्ने थाहा पाइन्।
त्यसपछि नवराज युवतीको घरमा गएका थिए। तर जात नमिल्ने भन्दै उनले उक्त प्रस्तावित विवाह अस्वीकार गरेकी थिईन् ।
घटना हुनुको दुई महिनाअघि २०७६ चैत १७ गते नवराज दोस्रोपटक युवतीको घर सोती गएका थिए। त्यतिबेला तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका दाइ विनोद मल्ल र परिवारको अरू सदस्यले कुटपिट गरी इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएका थिए।
स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार नवराजसहित ६ जनाको मृत्यु हुनेगरी घटना भएको दिन २०७७ जेठ १० गते नवराजकी प्रेमिकाले नै अन्यत्रै विवाह गरिदिन लागेकोले लिन आउनू भनेअनुसार उनी सोती गाउँ गए। त्यसबेला उनले १८ जना साथीहरू पनि सँगै लिएका थिए।
करिब साढे ५ बजे सोती पुगेका समूहमध्येका नवराजलाई देखेपछि गाँउलेहरु भेला भएर उनीहरुमाथि आक्रमण गर्दा ६ जनाको ज्यान गएको थियो ।