चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डो बनाएर दुई वटा गैडा मारी त्यसको खाग तस्करी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । गत कार्तिक ३० गते ती गैडाहरु मृत अवस्थामा फेला परेका थिए । उनीहरुको खाग निकालिएको अवस्थामा भेटिएको थियो । सोही गैंडाको खागसहित आठजना समातिएको निकुञ्जले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती रहेका छन् । उनी ९ गते चितवनको राप्ती–९ बाट समातिएका हुन् । त्यसैगरी पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवाानपुुर मनहरी–६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ–९ मुल घरभइ हेटौंडा–४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैंडा मार्ने योजनाकार भएको बताएको छ ।
गैंडाको खाग पनि राप्ती–६ मा नै फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।
निकुञ्जले राप्ती–११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका–६ फागम घर भइ मकवानपुर हेटौंडा–५ बस्ने २८ वर्षका अर्जुन रोका, घले भन्ने गोरखा बारपाक घर भई भरतपुर(११ लामा टोल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ, चितवन कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने वर्ष ५६ को इन्द्रबहादुर तमाङ रहेका छन् ।
उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनको म्याद दिएको छ । गैंडा मुद्दामा अपराध पुष्टि भए १० लाख रूपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।